एनआरएन अस्ट्रेलियाले संस्थागत सर्वेक्षण थाल्यो,, अस्ट्रेलियाका सबै राज्यहरुमा रहेका विद्यार्थी समेट्ने उद्देश्य

प्रकाशित मिति:

प्रवासी नेपालीको संगठन एनआरएन अस्ट्रेलियाले संस्थागत सर्वेक्षण सुरु गरेको छ । केही विद्यार्थीहरुको आलोचनापछि एनआरएनले अस्ट्रेलियाका सबै राज्यहरुमा रहेका विद्यार्थी समेट्ने उद्देश्यसाथ सर्वेक्षण थालेको हो । एनआरएनको इतिहासमै पहिलोपटक गरिएको सर्वेक्षणमार्फत एनआरएनले ल्याउनुपर्ने कार्यक्रम, प्राथमिकताका विषय, एनआरएनको गतिविधि थाहा भएकोरनभएको लगायतका विषय जान्ने प्रयास गरिएको छ । यो सर्वेक्षणबाट एनआरएनए अस्ट्रेलियाको उद्देश्य र भविष्यमा गर्नुपर्ने कार्यलाई दिशानिर्देश हुने विश्वास लिइएको छ । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले सर्वेक्षणमार्फत प्राप्त सुझाव, जानकारीअनुसार आगामी दिन योजना बनाउने सुनाए । केन्द्रीय सदस्य गोकुल घिमिरेले पनि पछिल्लो समयमा एनआरएनप्रति विद्यार्थीहरुले गुनासो गरिरहेका कारण सर्वेक्षण आवश्यक भएको बताए ।

दुई सातासम्म चल्ने सर्वेक्षण विद्यार्थीहरुको सहयोगका लागि भइरहेको कार्यक्रमका समीक्षा, परिमार्जन र थप नीति निर्माण गर्ने रहेको एनआरएनले दाबी गरेको छ । सर्वेक्षणप्रति विद्यार्थीहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले एनआरएनले सर्वेक्षण गरिए पनि यसमा आएको प्रतिक्रियाहरुको कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।एनआरएन प्रवक्ता डिला खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा सन् २०११ देखि अहिलेसम्म विद्यार्थीहरुलाई गरिएको खर्च विवरणसमेत उल्लेख गरिएको छ ।