देशका अधिकांश स्थानमा वर्षा र हिमपात

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ

प्रकाशित मिति:

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ। मंगलबार रातिदेखि सुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः सुरु हुने मौसमविद् श्रेष्ठले बताए। आज उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ। काठमाडौँ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ। देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणलीले प्रभाव पर्ने छ। हिजोदेखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ। भोलि एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुनः पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ। देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो। आज वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले बताए। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा भएको छ।    (रासस)

थप समाचार