नेशनल प्याब्सनको खेल सप्ताह सुरु
झविन्द्र देवकोटा ,बुटवल, १० माघ । प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले खेल क्षेत्रको बिकासका लागि तीनै तहका सरकार गम्भीर बन्नु पर्ने बताउनु भएको छ । राजनीतिक आग्रह र पुर्वाग्रह तथा नाताबाद र कृपाबादले खेलक्षेत्रलाई धरासायी बनाएको उल्लेख गर्दै मन्त्री गिरीले खेलबाट मुलुकलाई बिश्वमा चिनाउन सरकारनै गम्भीर बन्नु पर्ने जिकिर गर्नुभयो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन एन प्याप्सनको आठौं खेल सप्ताहको बिहीबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गिरीले संघिय, प्रदेश र स्थानीय सरकारले खेलक्षेत्रको बिकासका लागि रणनीतिक योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले शैक्षिकसँगै खेलकुदको क्षेत्रमा ठुलो योगदान पु्र्याएको भन्दै चर्चा समेत गर्नुभयो ।
यसैबीच नेशनल प्याब्सनको खेल सप्ताह सुरु भएको छ । बिहीबारदेखि सुरु भएको खेल सप्ताहमा सिनियर÷जुनियर ५० मिटर, एक सय मिटर र दुई सय मिटर दौड, हिसाव दौड भलिवल लगायत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । कालिका मानव ज्ञान माविको खेल मैदानमा भएका विभिन्न प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयहरु अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक बाबुराम बन्जाडेले जानकारी दिनुभयो । रुपन्देहीका विभिन्न २५ विद्यालयका एक हजार दुई सय बढी विद्यार्थीहरु सहभागि भएको प्रतियोगिताको विजेताले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । एन प्याब्सनका रुपन्देही अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, बालाकृष्ण तिवारी, जिल्ला उपाध्यक्ष तिलव केसि, सचिव जेबी क्षेत्री लगायतले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुदको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । खेल सप्ताह शनिबार सकिने छ ।











