संसद बैठक दिउँसो १ बजे, सत्तापक्ष–प्रतिपक्षबीच मुठभेडको संकेत

प्रकाशित मिति:

काठमाडौं  – प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधका बीच सत्तापक्षले आज बस्ने प्रतिनिधिसभा बैठकमा जसरी पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाले उक्त विधेयक पारित गर्ने एक मात्र कार्यसूची बनाएको छ । कांग्रेसकै अवरोधका कारण यसअघि सोमबार र मंगलबार बसेको संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पारित प्रक्रिया अघि बढ्न सकेको थिएन । सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसकै अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको हो ।

सत्तापक्ष प्रधानमन्त्री स्विजरल्यान्डबाट फर्किनुअघि नै विधेयक पास गर्ने रणनीतिमा छ । तर प्रधानमन्त्री ओली नफर्केसम्म सदन अवरुद्ध गरेर विधेयक पास गर्न नदिने रणनीतिमा काँग्रेस छ । प्रधानमन्त्री १२ गते मात्रै नेपाल फर्किंदैछन् । मंगलबारको बैठकमा घम्साघम्सी भएको दुई पक्षबीचको तनाव आज थप मुठभेडमा परिणत हुने संकेत देखिएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै आजको बैठकमा १ सय ३१ बाट बढाएर १६१ मर्यादापालक खटाउने तयारी गरिएको छ ।

कांग्रेसले पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल कुन निकाय मातहत रहने सरकारले स्पष्ट नबनाएसम्म सदन चल्न नदिने अडान लिएको छ । यता नेकपा संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडानमा छ ।