काठमाण्डौ
शुक्रबार बिहान अपहरणमा परेकी २ बर्षिय बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले प्रसुति गृहमा कार्यरत चिकित्सक बबिता साहकी दुई वर्षीया छोरी सन्दिज्ञा साहको अपहरण भएको ७ घण्टापछि सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार डाक्टर बबिता बिहान ८ बजे १० वर्षीय छोरा र छोरीलाइ छोडेर घरबाट निस्किएपछि घटना भएको हो। दाजु र बहिनी खेलिरहेका बेला कोटेश्वर घर बाहिरबाट एकजना अपरचित ब्यक्तिले बालिकालाई लिएर गएका हुन्।
बालिकाको उद्धारमा खटिएका डिएसपी होविन्द्र बोगटीले बालिका सकुशल रहेको बताए। उनले अपहरणमा संलग्न मनिषकुमार गुप्ता फरार रहेको बताए।
उनका अनुसार अपहरणपछि गुप्ताले जनकपुरमा रहेका बालिकाका बुवा इन्जिनियर सन्तोष कर्णलाइ फोन गरेर फिरौती मागेका थिए। कर्णले त्यसको जानकारी तत्काल प्रहरीलार्इ गराएका थिए।
‘बालिकाको अपहरणपछि केही रकम फिरौती माग भएको हो, संलग्न ब्यक्ति पीडितका परिचित हुनसक्छन्,‘ डिएसपी बोगटीले भने ‘अहिले अस्पतालमा बालिकाको उपचार भइरहेको छ‘। उनका अनुसार बालिकाको अवस्था सामान्य छ। चिकित्सकहरूले २४ घण्टा निगरानीमा राख्ने बताएका छन्।
डिएसपी बोगटीका अनुसार बालिकालाइ होटल परिसरमा छाडेर गुप्ता फरार भएका हुन्। अहिले बालिकाको प्रसुति गृहमा उपचार भइरहेको छ।












