एनसेल कर छलीको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को पेशी २० गते

प्रकाशित मिति:

काठमाडौं –सर्वोच्च अदालतमाएनसेल कर छली प्रकरणको सुनुवाइ यही माघ २० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको वृहत् पूर्ण इजलासामा बिहीवारबाट शुरू भएको सुनुवाइ हेर्दाहेर्दैमा राखी २० गतेलाई अर्को पेशी तोक्ने निर्णय भएको हो ।

वृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान सम्मिलित छन् ।

‘एक श्रीमानको व्यस्तताका कारण मुद्दालाई हेर्दाहेर्दैमा राखी अर्को सुनुवाइ २० गते गर्ने गरी पेशी तोकिएको छ,’ सर्वोच्च स्रोतले भन्यो ।

एनसेल प्रालि बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाइ गर्न सर्वोच्चले वृहत् पूर्ण इजलास गठन गरेको हो ।

मलेसियन कम्पनी एक्जियटालाई एनसेल बिक्री गर्दाको कर नेपाल सरकारलाई नतिरी स्विडिस कम्पनी टेलिया सोनेरा नेपालबाट फिर्ता भइसकेको छ ।

बिक्रेताले नेपालमा आफ्नो कुनै दायित्व नरहेको भन्दै कर तिरेको छैन भने एनसेल एक्जियटाले चाहिँ उक्त रकम बिक्रेताकै दायित्व अन्तर्गत रहेको दाबी गर्दै आएको छ ।

तीन वर्षसम्म बिक्रेता र खरिदकर्ताले लाभकर लगायतको रकम नरितेपछि उक्त रकम बढ्दै गइरहेको छ । ठूला करदाता कार्यालयका अनुसार उक्त रकम करीब ७१ अर्ब रुपैयाँ पुगिसकेको छ ।

संसद्का अर्थ समिति र सार्वजनिक लेखा समितिले समेत एनसेलको करछली प्रकरणमा सरकारका सम्बन्धित अधिकारीहरूलाई बोलाएर पटक-पटक निर्देशन दिँदै आएका छन् ।