देशभर आज कांग्रेसको विरोध सभा

प्रकाशित मिति:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ। ७७ वटै जिल्लामा हुन लागेको विरोधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगेका छन्।वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। यसैगरी उपसभापति विमलेन्द्र निधिले धुनषामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महामन्त्री सशांक कोइरालाले नवलपुरको विरोध प्रदर्शनको नेतृत्व गर्दा पूर्व महामन्त्री कृष्ण सिटौला झापा पुगेका छन्। पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्। युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने छन्।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ।सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन्। सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।यसैबीच रुपनदेहीको भैरहवामा नेपाली कांग्रेसको विरोध सभाहुंदैछ जसमा प्रतिनिधी सभा सदस्य डा मिनेन्द्र रिजाल र राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव रामकृष्ण खांणले जानकारी दिनुभयो ।