बझाङ – खप्तड छान्ना गाउँपालिकाको दुर्गम बस्ती बडाकोट घर भएकी ४० वर्षीया उजली देवी थापाको सुत्केरी भैसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको छ ।आइतबार राति घरमा खाना खाइसकेपछि सुत्केरी व्यथा लागेकी थापालाई पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजाँदै गर्दा बीच बाटोमै सुत्केरी हुनुभएको थियो । सुत्केरी भइसकेपछि अब घरमै लगौँ भनेर आफन्तहरुले थापालाई घरमा ल्याए ।सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण मध्यरातमा उहाँको मृत्यु भएको मृतकका आफन्त मुकेश थापाले बताउनुभयो । वडाकोटबाट पाटादेबल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ तीन घण्टाकोे पैदल बाटो हिँड्नुपर्छ । गाउँमा पनि दक्ष स्वास्थ्यक्रर्मी नहुँदा उपचार हुन नसकेपछि उहाँको मृत्यु भएको हो । छोरीको अवस्था भने सकुशल रहेको बताइएको छ ।
मृतकका श्रीमान रोजगारीका लागि भारत जानुभएको छ भने घरमा उहाँका दुई छोरा र एक छोरी छन् । जेठो छोराबाट नाति समेत पाइसक्नुभएकी थापाको उमेर ढल्केसँगै कमजोरी बढेकाले मृत्यु भएको बताइएको छ ।छोरा छोरीको रहर पूरा भइसकेको र अनिच्छामा गर्भ रहेकाले आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै थापाले बताउने गरेको उहाँका आफन्तहरुको भनाइ छ ।उहाँले अगाडिका बच्चाहरु पनि घरमै जन्माउनुभएको थियो । गाउँबाट स्वास्थ्यचौकी पनि टाढा रहेको र जिल्ला अस्पताल झनै टाढा रहेकाले छोरा बुहारीले तथा आफन्तले पनि ठिक भैहाल्छ होला भन्ने सोचेका थिए । तर उच्च रक्तश्रावका कारण थापाको मृत्यु हुन पुग्यो ।
गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी टाढा भएकाले समान्य स्वास्थ्य समस्या हुँदा समेत यहाँका स्थानीयहरुले निकै समस्या झेल्दै आएका छन् ।झण्डै तीनसय परिवार रहेको बयाना, बडाकोट गाउँमा प्रसूति केन्द्रका लागि महिलाहरुले बारम्बार पहल गरे पनि हालसम्म यहाँ प्रसूति केन्द्र स्थापना हुन सकेको छैन ।












