दुई तिहाइको दम्भमा सरकारले गलत काम गर्‍यो : कांग्रेस वरिष्ठ नेता पौडेल

भ्रातृ तथा शुभेच्छुक संघ संगठनमा पनि माउ पार्टीभित्र गुट उपगुटको प्रभाव परेको बताउनुभयो

प्रकाशित मिति:

काठमाडौ \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको दम्भमा सरकारले गलत काम गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसारको काम गर्नुपर्नेमा मनोमानी गरेको आरोप लगाउनुभएको हो । रेडियो कान्तिपुरसँग बिहान कुरा गर्दै उहाँले यसअघि कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको समेत स्वामित्व लिन वर्तमान सरकारले नचाहेको उल्लेख गर्नुभयो । वाइड बडी विमान खरिद प्रकरण, ३३ किलो सुन काण्ड, निर्मला पन्तको हत्या जस्ता घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसकेको पौडेलको भनाई छ । फरक प्रसङ्गमा भ्रातृ तथा शुभेच्छुक संघ संगठनमा पनि माउ पार्टीभित्र गुट उपगुटको प्रभाव परेको बताउनुभयो । उहाँले कांग्रेस नै गुट उपगुटको राजनीतिमा लागेकाले त्यसको प्रभाव तल्लो तहका साथै भ्रातृ संगठनमा पनि परेको बताउनुभयो । पार्टी भित्र विचार मिल्नेरमिल्ने जतिको जति वटा समूह बनेपनि सबैको साझा थलो केन्द्रीय कार्यसमिति भएकाले सबैको विचार त्यही मन्थन हुने बताउनुभयो । पार्टी जीवन्त बनाउन केन्द्रीय समितिमा सबैको विचार मन्थन गरेर नयाँ सोच, जोस र जाँगर ल्याउनुपर्ने उहाँको भनाई छ । पार्टी भित्र नेविसंघको नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको उहाँको भनाई छ ।