भोलि देखि घाम लाग्ने मौसमविद्को अनुमान

प्रकाशित मिति:

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार आएको छ ।केही दिनदेखि देशभरको मौसम प्रभावित पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै अहिले देशभरको मौसम सफा रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा मौसम बदली भए पनि आज रातिबाट देशभरकै मौसम सफा हुने र भोलि घमाइलो दिन हुने अनुमान गरिएको मौसमविद् रिमालले बताउनुभयो ।

तीन दिनदेखि देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको भएपनि हिउँदे बालीका लागि सिंँचाइ भएकोले किसान भने खुशी भएका छन् ।काठमाण्डौ वरिपरीका डाँडा चन्द्रागिरी, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिर लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । हिउँ खेल्न जानेहरुका कारण अहिले पनि थानकोट, गोदावरी लगायतका ठाउँमा जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।