झविन्द्र देवकोटा बुटवल, । रुपन्देहीको देवदहमा भएको नगरस्तरिय अन्तरमावि सगरमाथा कप छात्रा भलिवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । स्थानीय सगरमाथा आवासिय इङ्गिलिस माविको रजत महोत्सवको अवसरमा आयोजना गरिएको छात्रा भलिवलमा कोलिय मावि चरङ्गेलाई २५–१३, २५–११ को सोझो सेटमा हराउदै सगरमाथाले उपाधी कब्जा गरेको हो ।
उपाधीसँगै सगरमाथाले ७ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेको छ भने कोलियले द्वितिय हुँदै पाँच हजारमा चित्त बुझाएको छ । देवदह क्षेत्रका झण्डै एक दर्जन संस्थागत तथा सामुदायिक विद्यालय सहभागि भएको प्रतियोगितामा यसअघि सगरमाथाले न्यू नमुना भलुहि र कोलियले न्यू लुम्विनी खैरेनीलाई हराएर फाईन प्रवेश गरेका थिए ।
सगरमाथा माविका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष पदम थापा, नेशनल प्याब्सनका प्रदेश ५ का उपाध्यक्ष विष्णु पौडेल, सहसचिव होमनाथ ढुङ्गना, एन प्याब्सन जिल्ला अध्यक्ष देउप्रकाश राईल, युगज्योति मावि ब्यवस्थापन समितिका बासुदेव रिमाल, अक्षर एकेडेमिका अमरनाथ पाठक लगायतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो ।
मंगलबारको प्रतियोगितामा विजयी विद्यालय समुहलाई फागुन ७ गते सगरमाथाको रजत जयन्ती मुल समारोहमा पुरस्कार वितरण गरिने विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीले जानकारी दिए ।












