चन्द्रौटा – मुख्य राजमार्ग क्षेत्रमा सवारी साधनबाट बढी फोहर हुने गरेकाले प्रदेश नं ५ सरकारले नयाँ कानून ल्याउने तयारीमा रहेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीले बताए । उनले सवारी साधन सडकमै रोकेर फोहर फाल्ने तथा दिसापिसाब गर्ने गरेकाले अब त्यसलाई कडाइ गरिने बताए । सडकमा रहने हरेक पेट्रोलपम्पमा सफा सार्वजनिक शौचालय हुनुपर्ने नियममा समेत कडाइ गर्ने र नभएमा दर्ता नगरिने बताए ।
प्रदेश स्थापना दिवसको अवसरमा विहीबार बर्दियादेखि नवलपरासीसम्म सडक क्षेत्रका बजारमा विभिन्न प्रदेश मन्त्रीको उपस्थितिमा सरसफाइ गरिएको चौधरीले जानकारी दिए । प्रदेश सरकारले सरकार गठनको एक वर्षमा सोचेजति काम गर्न नसकेको स्वीकार्दै कानून बनाउनुपर्ने बाध्यताले पनि केही कमी भएको र अन्य प्रदेशको तुलनामा काम भएको दावी गरे ।












