स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाको कठिन जित

प्रकाशित मिति:

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ । शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १-० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई १-० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४-१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३(० गोलअन्तरले पराजित गरेको छ ।लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २४ खेलबाट ४७ अंक छ ।