काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारको कडा आलोचना गरेको गरेको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै आलोचना गरेको हो । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको दाबी गरेको छ । ‘प्रधानमन्त्रीले जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन् रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा देशलाई राम्रै मनोरञ्जन दिनु भएको छ’ पार्टी कार्यालयमा आइतबार आयोतित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तर, देशले जे शासकीय योग्यता खोजेको थियो, त्यो देखिएन ।’
भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको कांग्रेसको आरोप छ । बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमिततामा प्रधानमन्त्री ओली स्वयंम दोषी भएको कांग्रेस प्रवक्ता शर्माले बताए । यही फागुन ३ गते ओली नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पुगेको सन्दर्भमा काँग्रेसले एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति जनविश्वास बढ्दै जानुमा ५ कारण प्रस्तुत गरे ।
जसमा गोविन्दको केसीको माग पूरा गर्न उदासीनता देखाइएको, बूढीगण्डकी जलविद्युत निर्माणको जिम्मा विदेशी, कम्पनीलाई दिइएको, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न नसकेको र निर्दोषलाई फसाउन खोजिएको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दलले जबरजस्ती गरिएको उल्लेख गरिएको छ । यस्तै सरकारले सञ्चारमाध्यबाट खतरा देखेर अंकुश लगाउने गरी कानुनहरु निर्माण गर्न लागेको पनि काँग्रेसले आरोप लगाएको छ ।
एउटै गीतबाट दुई तिहाइको सरकार थरर ?
काँग्रेसले एउटै गीतबाट दुई तिहाइको सरकार थरर भएको टिप्पणी गरे । प्रवक्ता शर्माले दुई तिहाइको सरकार एउटा गीतले पनि काँपेको आरोप लगाएका हुन् । ‘कति बलियो होला दुई तिहाईको सरकार, एउटा गीतले पनि थरर काप्ने?,’ शर्माले भने ।
प्रवक्ता शर्माले अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि सरकार गम्भीर नरहेको आरोप लगाए । ‘सरकार आफैंले कही हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउन चेतावनी दियो,’ उनले भने, ‘मेरो आशय आरोप बिल्कुल होइन । एउटा गायकले गीत प्रस्तुत गर्दैगर्दा आलोचित या प्रशंसित हुन पाउने गायकको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन ।’
लोकदोहारी गायक पुशपति शर्माले हालै सार्वजनिक गरेको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका शब्दका कारण सरकार पक्षीय नेता, कार्यकर्ता र युवा संघले गीतमा प्रतिबन्ध लगाउन माग गरेका थिए । शर्माले शनिबार साँझ आफ्नो गीत युट्युबबाट हटाएका थिए ।












