काठमाडौं – नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय समितिले महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसले नेविसंघ केन्द्रीय समिति विघटन गरि नयाँ समिति बनाउने तयारी गरेको छ। महरले पार्टी नेतृत्वलाई राजिनामा बुझाइसकेपछि पार्टी केन्द्रीय समितिबाटै कार्यसमिति बनाउने तयारी समेत भइरहेको छ।
पार्टीले तयारी गरिरहँदा कतिपय विद्यार्थी नेतृत्वले भने नेतृत्वप्रति आशंका व्यक्त गरिरहेको छ। नेतृत्वका कतिपय नेताहरु मिलेर एकलौटी निर्णय गर्ने हुन की भन्ने आशंका समेत उनीहरुमा देखिन्छ। त्यसैले विद्यार्थी राजनीतिमा लागेकाहरु अहिले नेतृत्वलाई दवाव दिइरहेका छन्।
पार्टी सभापति शेर बहादुर देउवाले परामर्शबाटै नेविसंघ तदर्थ समिति बनाउने बताएपनि नेताहरुसँग खासै सल्लाह नभएको एकथरिको आरोप छ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्ष महरले राजिनामा दिएको फाइदा उठाउँदै नयाँ बनाइने नेविसंघमा एकलौटी गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताए। उनले नेविसंघका सबै पक्षलाई मिलाएर गए मात्र आफूहरु नयाँ बन्ने समितिलाई सहयोग गर्ने अवस्थामा हुने बताए। नत्र विद्यार्थी साथीहरुले समानान्तर नेविसंघ चलाउन सक्छन उनको चेतावनी छ।
निवर्तमान समितिमा जुन जुन हैसियतमा जुन जुन समुह थिए सोहि अनुसार नयाँ समितिमा स्थान दिनुपर्ने काफ्लेको तर्क छ। यसका लागि पार्टीका सबै पक्षसँग छलफल हुनुपर्ने उनको सुझाव छ। नेविसंघमा सबैलाई समेट्ने गरि नयाँ समिति बनाएर अन्यौलको अन्त्य गरिनुपर्ने उनले बताए।
नेविसंघका निवर्तमान महामन्त्री काफ्ले समूहले आफ्नो धारणा राख्न वाल्मिकी क्याम्पसमा सोमबार पत्रकार सम्मेलन पनि गर्दैछ। पत्रकार सम्मेलनमा वाइड वडी पत्ररणमा सरकारले भ्रष्टाचार लुकाउन खोजेको, दोषीहरुलाई कार्वाहीको दायरामा ल्याउन नचाहेर संरक्षण गरेको, देशैभरि भ्रष्टाचार संस्थागत गरिएको लगायतका विषयमा विरोधा कार्यक्रमको घोषणा समेत गर्ने कार्यक्रम रहेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुसिल भट्टले जानकारी दिए।












