बुटवल, फागुन १२ । बुटवल उप–महानगरपालिकाको वडा नं. १० को भवन निर्माणको काम सुरु भएको छ । बुटवल–१०, कालिकानगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको आइतबार एक समारोहका बीच उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । शिलन्यास समारोहमा बोल्दै प्रमुख सुवेदीले उपमहानगरले कानून निर्माणदेखि पूर्वाधार निर्माणसम्मका कामहरुलाई प्राथमिकताका आधारमा अगाडि बढाइरहेको बताउनुभयो । वडास्तरमा सेवाकेन्द्र सरहका सेवा प्रवाह गर्ने गरि तिनको व्यवस्थापनको काम भइरहेको उल्लेख गर्दै प्रमुख सुवेदीले समृद्ध बुटवल, सुखी जनताको संकल्पअनुरुप जनप्रतिनिधिहरु खटेर लागेको बताउनुभयो ।
भवन शिलन्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका नेता युवराज गिरी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मी, योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, वडा अध्यक्ष पदम थापासहित वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, नागरिक अगुवाहरुको सहभागिता रहेको वडा सचिव झविन्द्र थापाले जानकारी दिनुभयो । झण्डै १५ सय स्कावयर फुट क्षेत्रफलमा बन्ने भवन अत्याधुनिक स्टील स्ट्रक्चर, जिप्सनको सिलिङजडान गरेर निर्माण गर्नेगरि डिजाइन गरिएको उपमहानगरका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनुुभयो । यो भवन एक तलाको हुने छ । भवनमा पाँच कोठा, बरण्डा र चार वटा शौचालयसमेत बन्नेगरि डिजाइन गरिएको इन्जिनियर बस्यालले बताउनुभयो ।भवन निर्माणका लागि उपमहानगरले चालु आवमा ३८ लाख ३१ हजार पाँच सय ४६ रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त भवन ०७६ साउन १५ गते निर्माण सक्ने गरि निर्माणको जिम्मा मुक्ति कन्ट्रक्सन प्रालि तिलोत्तमाले पाएको छ ।