हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको दाहसंस्कार आर्यघाटमा

प्रकाशित मिति:

काठमाण्डौ/ ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पाँच जनाको आ आफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दिवङ्गत उपसचिव दाहालको पार्थिव शरीरमा उहाँका दाजु देवराज दाहालले दागबत्ती दिनुभएको थियो । श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, सरकारको विशिष्ट श्रेणीका पदाधिकारी, निजामती कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, नेपाली सेनाका अधिकारी तथा सर्वसाधारणको आर्यघाटमा ठूलो भीड लागेको थियो ।दुर्घटनामा दिवङ्गत मन्त्री अधिकारीको शव भने अन्तिम संस्कारका लागि गृहजिल्ला कास्की लगिएको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

यसअघि बिहान दिवंगत सातै जनाको शव काठमाण्डौ टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाण्डौ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।