काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। दिवंगत मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार वन्ने आशा राखेको भन्दै आफूविरुद्ध कुप्रचार गर्न खोजिएको उनले आरोप लगाएका छन्। शनिबार एक विज्ञप्ती जारी गर्दै उनले आफू रवीन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरा पुगेको प्रसंगलाई जोडेर उम्मेदवार बन्ने आशा राखेको भन्ने आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिएकोमा उनले आपत्ती जनाएका छन्। उनले भनेका छन् प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।
नेता गौतमले मृत्युको शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको र जीवनभर नदिने बताएका छन्। उनले पार्टीले निर्णय गरेपनि आफू रवीन्द्रको निर्वाचन क्षेत्रबाट नउठ्ने बताउँदै उक्त निर्वाचन क्षेत्रबाट रवीन्द्रकै परिवारका सदस्यलाई उम्मेदवार वनाउन लगाउने बताए।












