भैरहवा/चैतमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोमबारबाट भैरहवामा प्रदेशस्तरीय क्रिकेट छनोट खेल हुने भएको छ । पाँच नम्बर प्रदेशबाट आठौंमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच प्रतिस्पर्धा गराउन लागिएको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले बताए ।
१२ जिल्ला रहेको प्रदेशमा रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा गरी १० टिमको सहभागिता हुनेछ । छनोट खेलमा प्यूठान र रुकुमले भने खेलाडी पठाएका छैनन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने खेलमा सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी प्रदेश पाँचको एउटा टिम बनाइने कार्यालय प्रमुख थापाले जानकारी दिए ।जिल्ला–जिल्लाबाट गरी जम्मा १४ क्रिकेट खेलाडी छनोट हुनेछन् । नकआउट चरणमा खेलाइने खेल २० देखि फागुन २५ गतेसम्म चल्ने आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । छनोट खेलका लागि सिद्धार्थ रंगशालालाई तयार पारिएको छ भने तयारी सबै पुरा भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए । ‘यहाँ रुपन्देही सुपर लिग समेत संचालन भइरहेकाले ग्राउण्ड र पिच अत्यन्तै राम्रो बनाइएको छ, खेलाडी उत्कृष्ट पिचमा उत्कृष्ट प्रदर्शन गर्न पाउनेछन्’, मल्लले भने ।
पछिल्लो समय रुपन्देहीमा क्रिकेट खेलहरुमा आयोजना हुनेक्रम बढ्दो छ । यहाँ रुपन्देही सुपर लिग चलिरहेको छ भने लुम्बिनीमा समेत केही दिन अभि प्रतियोगिता भएको थियो । यस्तै, गाउँगाउँ र नगस्तरी प्रतियोगिता समेत भएका छन् । प्रदेश पाँचबाट राष्ट्रिय टिममा दर्जन बढी खेलाडीले सहभागिता जनाइसकेका छन् । अहिले पनि बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन लगायतका खेलाडी राष्ट्रिय टिमबाट खेलीरहेका छन् । शक्ति गौचनले भने केही महिना अघि राष्ट्रिय टिमबाट सन्यास लिएका थिए । क्रिकेटमा प्रदेश पाँचका रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा बढी प्रतियोगिता आयोजना हुने गर्छ ।










