गाउँपालिका उपाध्यक्षले हालिन् वडाध्यक्षविरुद्ध उजुरी, महिलाको अपमान गरेको आरोप
सुर्खेत – सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले वडा नम्बर २ का अध्यक्ष हरिबहादुर सिंह ठकुरीलगायतविरुद्ध उजुरी दिएकी छन्। १०९औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रवार वडा २ काफलकोटमा गर्ने भनिएको कार्यक्रम असफल पारेको र महिलाहरुको अवहेलना गरेको भन्दै उपाध्यक्ष शाहीले वडाध्यक्ष ठकुरी सहित वडासदस्य पूर्णकला बुढा र स्थानीय माध्यामिक विद्यालयका प्रधानध्यापक हरिनारायण यादवविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिएकी हुन्। कार्यक्रमको तयारी नगरेको, कार्यक्रममा लागि ब्यानर समयमा नराखेको र महिलाहरू उपस्थित नगराएको भन्दै उनीहरुविरुद्ध उजुरी हालेको वडा नंं. २ का अध्यक्ष ठकुरीले बताए। सिम्ता गाउँपालिकाको १९ फाल्गुनमा बसेको गाउँकार्यपालिकाको बैठकले नारी दिवसका दिन गाउँपालिकाभर विविध जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो।
उपाध्यक्ष शाहीले सिम्ता गाउँपालिकाको वडा नम्बर ३ आग्रीगाउँमा रहेको प्रहरी चौकीमा पुगेर उजुरी दिएको प्रहरी चौकी आग्रीगाउँ देउलीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द विकले जानकारी दिए। ‘उपाध्यक्ष शाहीले वडा अध्यक्ष हरिबहादुर सिंह, स्थानीय माध्यमिक विद्यालयका प्रधानध्यापक हरिनारायण यादव र वडासदस्यविरुद्ध उजुरी दिनुभएको हो,’ विकले भने। गाउँपालिकाको बैठकले जनप्रतिनिधिहरुलाई नारी दिवसका अवसरमा कार्यक्रमका लागि विभिन्न स्थानमा कार्यविभाजन गरेअनुसार शुक्रबार उपाध्यक्ष चन्द्रकला शाही काफलकोटमा पुगेकी थिइन्। पछि कार्यक्रमका लागि आवश्यक तयारी पूरा नगरेको भन्दै उपाध्यक्ष कार्यक्रममा सहभागी नै नभई हिँडेकी थिइन्।
‘कार्यक्रमको कुनै पनि तयारी नगरेको भनदै उपाध्यक्षज्यू झर्किनुभयो,’ ठकुरीले भने ‘अनि कार्यक्रममा सहभागी नै नभई हिँड्नु भयो।’ वडाध्यक्ष सिंहले सम्पूर्ण कार्यक्रम वडाको महिला सञ्जाललाई जिम्मा दिइएको बताए। आफूलाई कार्यक्रमको बारेमा जानकारी भएको तथा व्यानर पनि समयमा नआएको, वडा सञ्जालका महिलाहरु तथा विभिन्न समूहका महिलाहरूलाई जानकारी पनि गराएको वडा अध्यक्ष सिंहले बताए। वडाध्यक्ष ठकुरीका अनुसार उपाध्यक्ष दिउँसो साढे १२ बजे कार्यक्रम स्थलमा आएपछि वडा सञ्जालका अध्यक्ष त्यहाँ पुगेकी थिइन्। गाउँपालिका उपाध्यक्ष शाहीले वडाध्यक्षलगायतले कार्यक्रम असफल पार्न राजनीति गरेकाले उजुरी हाल्नुपरेको बताइन्। ‘म बिहान १० बजे कार्यक्रमस्थल पुगेकी थिए, त्यहाँ कुनै तयारी थिएन। देशभरका विद्यालय बन्द हुँदा उक्त वडाको विद्यालय बन्द थिएन।’ वडाका केही शिक्षक र स्थानीयले कार्यक्रम असफल पारौँ नारा लगाएको समेत उनले दाबी गरिन्। खासगरी राजनीतिक प्रभावले वडाध्यक्षले आफू सहभागी कार्यक्रम असफल बनाउने रणनीति खेलेको शाहीको आरोप छ। ‘मैले मेरो लगायत समग्र सिम्ता गाउँपालिका सरकारको अपमान भएको र नारीहरुको अपमान गरेको भन्दै प्रहरी चौकीमा उजुरी दिएकी छु, यस विषयमा छलफल र बहस हुनुपर्छ,’ उनले थपिन्। उपाध्यक्ष शाही सोही वडाकी बासिन्दा हुन्। शाही पुर्व एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचीत भएकी हुन्। उक्त वडाका अध्यक्ष ठकुरी भने कांग्रेसबाट निर्वाचित भएका हुन् -थाहाखबर












