यूएई/यूएईको आबुधाबीमा रहेको नेपाली राजदूतावासको गाडी दुर्घटनामा परेको छ ।नेपाली कामदारको मुद्दाको सुनुवाइका लागि दुबई अदालतमा जाँदै गर्दा दूतावासको सीडी ५७२३ यूएई नम्बरको टोयोटा गाडी दुर्घटनामा परेको हो ।आबुधाबीबाट दुबई जाँदै गर्दा दूतावासको गाडी जेबेल अली भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीमा सामान्य क्षति भएको छ ।
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण राजमार्गमा एकैसाथ १४ वटा गाडी एकआपसमा ठोक्किएका थिए । त्यसैक्रममा नेपाली दूतावासको गाडी पनि दुर्घटनामा परेको हो । नेपाली दूतावासमा कार्यरत स्थानीय कर्मचारी जनसम्पर्क अधिकृत राजी अहमद र इरफान आलम दुबई अदालतमा नेपाली कामदारको मुद्दाको सुनुवाइका लागि जाँदै थिए । गाडी राजीले चलाएका थिए ।विभिन्न ठाउँमा भएको दुर्घटनामा परि ४ जना विदेशी नागरिकको ज्यान गएको बताइए पनि ती कुन देशका नागरिक हुन् भन्ने चाहिँ खुलेको छैन ।
बिहानैदेखि यूएईका विभिन्न ठाउँमा बाक्लो हुस्सुका कारण धेरै गाडी दुर्घटनामा परेको आबुधाबी प्रहरीले जनाएको छ ।दुर्घटनामा परि नेपाली नागरिकलाई भने कुनै क्षति नभएको नेपाली राजदूतावास, आबुधाबीका नियोग उप–प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँले जानकारी दिनुभयो ।












