रुपन्देही /जिल्ला सदरमुकाम भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ को समूह बीको खेलमा तिरुपति क्रिकेट क्लब भैरहवालाई ३३ रनले पराजित गर्दै देवदह क्रिकेट युनिट देवदह सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । जसमा अर्जुन रायमाझी ४५ र प्रेम श्रेष्ठको १७ रनको योगदान रह्यो । तिरुपतीका देव खनालले ५, शरद रायले र केशव पौडेलले समान २÷२ विकेट लिए ।प्रतिउत्तरमा १ सय २३ रनको बिजयी लक्ष्य पाएको तिरुपती २८.५ ओभरमा अलआउट भई ८९ रनमा सीमित हुन पुग्यो । तिरुपतीका लागि देव खनालले १९ र बिशाल पौडेलले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङमा देवदहका सुरज खड्का र अर्जुन रायमाझीले ३–३ विकेट र विशाल श्रेष्ठले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ दी म्याच घोषित भए ।
सोमबार साई ग्लोबल क्रिकेट क्लब भैरहवा र न्यू होराइन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । आइतबारको खेलसँगै तीन टिम सेमिफाइनल पुगेका छन् । यसअघि लुम्बिनी खुकुरी क्रिकेट क्लब र वेस्टर्न क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।










