नानजिङ । चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको छ । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका पुरातत्वविद् अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा सोमबार सो अण्डा फेला पारेका हुन् । उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा ती अन्डा फेला परेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताएका छन् । सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन् तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ उनले भने। अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ । सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।












