अमेरिका । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा गर्न सियाटल निवासी पशुपति पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अमेरिका वासिङटन स्टेट च्याप्टरले आइतबार सियाटलमा आयोजना गरेको कार्यक्रममा पाण्डेले महासचिवमा उठ्ने औपचारिक घोषणा गरेका हुन् । एनआरएनए अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेशन कमिटीको संयोजक भएर काम गरिरहेका पाण्डेले यस अघि नै आफ्नो फेसबुक वालबाट भने महासचिवमा अगाडि बढ्ने सार्वजनिक गरिसकेका थिए । पाण्डेले महासचिवमा उम्मेदवारी घोषणा गर्दै भने “तल्लो तहबाट प्रवेश गरी विभिन्न सङ्घ संस्थाको नेतृत्वसम्म पुगेर गरेका काम, अनुभव, सिप र आर्जन गरेको ज्ञानले जिम्मेवारी सही ढङ्गले बहन गर्न मलाई सहज हुने छ ।
पाण्डे पेसाले इन्जिनियर हुन् । उनी सन् २०१० देखि एनआरएनए अमेरिकामा सम्बद्ध छन् । सन् २०१५ बाट एनआरएनए अमेरिका र आइसीसीका विभिन्न कमिटीमा बसेर काम गरिरहेका छन् । अहिले अमेरिकाको भूमिमा नेपालीले आर्जन गरेको शिक्षा, सिप, दक्षता, अनुसन्धान र अनुभवलाई नेपालसँग जोड्न पाण्डे सक्रिय छन् । सोही कार्यक्रममा सियाटल निवासी टी पी खनालले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।












