मगर राष्ट्रिय परिषदको संघीय भेलाको तयारी पुरा

प्रकाशित मिति:

बुटवल पहिचान र समावेशी विकासका लागि हाम्रो अभियान,मगरात प्रदेशको पक्षमा दोस्रो संघीय भेलाको आव्हान’ नारासहित मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो संघीय भेलाको तयारी पूरा भएको छ ।

चैत २३ गते बुटवलस्थित अमर भवन सुख्खानगरमा हुने भेलाको पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको परिषद संयोजक टेकम बाठा मगरले बताए । भेलामा देशका ४० जिल्लाबाट एक सय ५० प्रतिनिधि सहभागी हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भेलामा समसामयिक राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल र नयां नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

भेलाले प्रदेश ५ लाई मगरात प्रदेश नामाकरणका लागि दवावमूलक कार्यक्रम तय गर्ने संयोजक बाठा मगरले बताए । मगर सघन वस्तीहरु लाई कर्णाली र गण्डकी प्रदेशमा समेत मिसाइएकाले पश्चिममा भेरी नदीदेखि पुर्वमा गण्डकी नदीसम्मको भूभागलाई समेटेर मगरात प्रदेश बनाउन परिषदले माग गरेको छ । परिषदले पहिचानसहितको सिमांकन हुनुपर्ने मागलाई जोडतोडले उठाउने परिषदका सल्लाहकार बोमबहादुर दर्लामी मगरले बताए । कार्यक्रम परिषदका रुपन्देही जिल्ला सदस्य तेजु रानाको संचालनमा सम्पन्न भएको थियो ।