मेटल आर्टस उधोगीको कथा ,जसलाई उद्यमले माम संगै दाम पनी दियो

प्रकाशित मिति:

सन्जु पौडेल \बुटवलको सुख्खानगरमा बाहिर पट्टी ‘पराजुली मेटल आर्टस उद्योग’ लेखिएको ठुलो बोर्ड छ । देख्दा सामान्य लाग्ने उक्त उद्योगमा भेटिने बलराम पराजुलीको उद्यमी कथा भने त्यति सामान्य छैन । त्यसै उद्योगका मालिक ४८ बर्षिय बलराम कुनै समय एसएलसी पास गर्न नसकेर शिक्षक रहेका आफ्ना दाजु र परिवारको प्रतिष्ठाको लागि केही गर्छु भनेर रूपन्देहीको रुद्रपुरबाट बुटवल सरेका व्याक्ति हुन् । २०२६ सालमा पर्वतमा जन्मिएका पराजुली उनी एक बर्षको हुँदा उनको परिवार रुद्रपुरमा बसाई सर्यो । पढ्न मन लागेन तर परिवारको प्रतिष्ठा र जिविकाको लागि केही गर्नुपर्छ भन्ने कुराले भने उनलाई जहिल्यै घच्घचाई रह्यो । रुद्रपुरमै रहँदा रेडियोमा सुनेको रेडियो बनाउने तालिम खुलेको सूचनाले उनलाई बुटवल सम्म डोर्यायो । उनले उक्त तालिम लिनकै लागि बुटवलमा कोठा भाडा गरेर बस्न थाले अनि सिके रेडियो बनाउने सिप । कोठाको ३ सय जति र तालिमको २सय गरेर उनी घरबाटै पैसा ल्याएर शिप सिक्दै थिए , तालिम सकियो । उनले विभिन्न रेडियो मर्मत केन्द्रमा काम गर्न थाले । साथीभाईसँगै बस्ने काम गर्ने गर्दै गर्दा कुरामा कुरा चल्यो एउटा दाईले मेटल एण्ड आर्टको काम गरौं राम्रो हुन्छ भन्ने प्रस्ताव ल्याए । ती दाईले मेशिन किनेर ल्याए तर धेरै समय चलाउन सकेनन् । अनि बलरामलाई त्यो मेशिन खरिद गरी उद्योग संचालन गर्ने प्रस्ताव राखे । बलरामले घरबाट ७० हजार मागेर ल्याए अनि शुरु गरे मेटल एण्ड आर्ट उद्योग । उनका अनुसार त्यो नौलो व्यवसाय पश्चिमाञ्चलमै पहिलो थियो , जसको आडमा उनी अहिले पनि अगाडि बढिरहेकाछन् । शुरुमा उनी आफूले नजानेकाले एउटा कारिगड राखी उनले काम शुरु गरे । आफूले सिक्दै पनि गए । २०५५ सालमा बिहे गरेर भित्रिएसँगै श्रीमती कमला पराजुली पनिउनकी घरकी सहयात्री मात्र नभई उद्योगमा पनि बराबरको सहयात्रामा साथ छिन् । श्रीमती मात्र हैन उनका छोराछोरीको सहयोगले पनि पराजुली सन्तुष्ट भई काम गर्छन् । बिहेपछि भारत गई सिक्ने रहरले उनी भारत गए । बहिनी ज्वाईंको सहयोगले एकजना बेरिङ कम्पनीमा काम गर्ने साथीले उनलाई मेटल आर्टमा प्रयोग हुने सामाग्री बारे जानकारी दिए र त्यही जानकारी अनुसारको सामान किनेर पराजुलीले घरमै मेहनत गर्न थाले ,त्यो समयदेखि अहिलेसम्म बलरामको मेटल उद्योग चलिरहेको छ ।रु ६ सय मासिक भाडा तिर्ने सटरको हालको भाडा अहिले ८ हजार पुगेको छ तर उनलाई चित्त नबुझेको कुरा उनले बनाउने सामानको मूल्यदर भने उस्तै उस्तै भनौं पहिले जस्तै सस्तो छ ।आम्दानीका हिसाबले खान, लाउन पुगेकैमा सन्तोष व्यक्त गर्ने बलरामले नामको परिचय भने राम्रै कमाएका छन् । प्रहरी कार्यालयदेखि विद्यालय र विभिन्न संघसंस्थामा उनको उद्योगबाट बनेका सामानले स्थान पाउँछन् । कहीँ आफ्नो कामको बारे जानकारी गराउन जाँदा होस् या काम पश्चात पैसा लिनका लागि बलरामलाई देखेर कसैले पनि मालिक नै उनी भनेको कमै पाईन्छ । त्यति साधारण छन् उनी । साधारण तरिकाले रहनसहन गरिरहेका बलराम भन्छन् ‘कमाएर घर बनाउन जग्गा जोड्न सकिएन तर नाम छ परिचय छ कि फलनाकहाँ राम्रो सामान पाईन्छ रत्यहीबाट लिनपर्छ भन्दा मनमा सन्तुष्टि मिल्छ । ’ सिजन र अफसिजन हुनेयो उद्योगबाटै मासिक १ लाख कमाई पनि हुन्छ भने अफसिजनमा २० हजारमा चित्त बुझाउँछन् उनी । स्वयम् मेहनत गरेर अर्जेको यो उद्योगमा संचालित मेशिन पनि बलरामले आफै बनाएका छन् । उनी र परिवार बाहेक एकजना कर्मचारी बाहिरको राखेर काम गरिरहेका पराजुलीको चाहना यो उद्योगलाई छोराछोरीले पनि चलाउन् र आम्दानी गरुन् भन्ने छ । तर भविष्य अझै पर छ एसईई दिने छोरी र कलेज पढ्दै गरेका छोराले खाली समयमा उनलाई सघाएकामा उनी खुशी छन् । बजार बढ्दो छ अनि उद्योग पनि धेरै छन् । उनी थप्छन् ‘उद्योग लाई बढाएर सिँगारेर राम्रो बनाएर गर्न सके अझ राम्रो हुनेथियो यही संरचनामा संचालन गर्दा कतिपय अफ्ठ्यारा आउँंछन् तर सन्तुष्टी न हो चलिराछ ।’ पराजुली मेटल एण्ड आर्ट उद्योगमा ः मायाको चिनो, ताम्र पत्र, इन आउट बोर्ड, नेम प्लेट,मेडल, शिल्ड आदि पाईन्छ ।