विष्णु पाैडेललाई झु्क्याएर बालुवाटारकाे जग्गा बेचे, उहाँले क्षतिपूर्ति पाउनुपर्छ : मन्त्री बाँस्काेटा
काठमाडौं – सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ । सरकारले यसअघि नै बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा रोक लगाइसकेको बताउँदै उहाँले नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार त्यहाँको जग्गा यसअघि नै सरकारले किनबेचमा रोक्का लगाइसकेको पनि बताउनुभयो । नक्कली कागजातका आधारमा झुक्याएर जग्गा बेच्नेलाई कारबाहीको दायरामा ल्याएर त्यसबाट पीडित बनेकालाई क्षतिपूर्ति भराउने पनि उहाँले बताउनुभयो ।
जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलको पनि नाम जोडिएको छ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले उहाँ जग्गा किनेर ठगीमा पर्नुभएको बताउनुभयो । कसैले झुक्याएर जग्गा बेचेकाले उहाँले क्षतिपूर्ति पाउनु पर्ने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो । ‘उहाँ आफै फर्जी काममा संलग्न हुनुभएको होइन कसैको जग्गा किनेको भनिसक्नुभएकाले उहाँ आफै ठगीमा पर्नु भएको हो’, प्रवक्ता शर्माले भन्नुभयो । बाँस्कोटाले भन्नुभयो, ‘उहाँले किनेको जग्गा नक्कली परेछ, ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन, उहाँले त क्षतिपूर्ति पाउनुपर्छ ।’
त्यहाँको जग्गा अन्य सर्वसाधारण व्यक्तिहरुले पनि किनेको र उनीहरु पनि ठगीमा परेको उहाँले बताउनुभयो । ‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे उहाँ पनि कारबाहीको दायरामा पर्नुहुन्छ’, बाँस्कोटाले भन्नुभयो, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’ सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएकाले यसमा कुनै पनि बहानामा कसैलाई छुट नदिने उहाँले प्रष्ट पार्नुभयो ।












