रामचन्द्र पौडेलले सोधे : ओली र प्रचण्डले के सपना बांडेका थिए ? के पूरा गरे ?

प्रकाशित मिति:

सबलपोष्ट – बुटवल, ७ बैसाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको कुनै निश्चित सिद्धान्त नभएको दावी गरेका छन् । उनले अहिलेसम्म जनता र कार्यकर्तालाई ढांटेरै कम्युनिष्टहरु सत्तामा पुगेको आरोप लगाए । तर कांग्रेस सिद्धान्तमा सधैं अडिग रहेको उनको दावी छ । ‘इतिहास र सिद्धान्नमा हामी श्रेष्ठ छौं तर कम्युनिष्टको सिद्धान्त र विचारको ठेगान नै छैन’–पौडेलले भने–‘गरीब,मजदुर,किसानलाई कस्ता सपना बांडेका थिए, अहिले उनीहरुको अवस्था के छ, नेताको कस्तो छ ?’ केपी ओली र प्रचण्डहरुले जनता र कार्यकर्ताहरुलाई देखाएको सपना अहिले किन पूरा भएन भनेर अब कांग्रेसले गरीब,किसान, मजदुरसंग प्रश्न गरेर उनीहरुको मन जित्ने बेला आएको बताए । इतिहास, सिद्धान्त र आदर्शमा राम्रो हुंदाहुंदै सो अनुसार व्यवहार नहुंदा र पार्टीमा अन्तरघात हुंदा कांग्रेसले चुनाव हारेको भन्दै व्यवहार सुधार गरेर अघि बढे कम्युनिष्टसंग लड्न सकिने बताए । आउंदो चुनावमा कम्युनिष्टसंग प्रतिस्पर्धा गर्न पार्टीको १४औं महाधिवेशन जतिसक्दो छिटो गर्न कार्यकर्ताले दवाव दिनुपर्ने पौडेलले आग्रह गरे ।

चुनावको मुखमा महाधिवेशन गर्ने हो भने फेरि पनि कांग्रेस पराजित हुने पौडेलले औंल्याए । कम्युनिष्टसंग लड्न र उनीहरुको हातबाट सत्ता आफूमा ल्याउन धेरै गृहकार्य गर्नुपर्ने भन्दै उनले छिटो महाधिवेशन गरेर पार्टीलाई एकतावद्ध बनाई प्रत्येक मतदाताको घरघरमा कम्युनिष्टको भण्डाफोर गर्न पुग्नुपर्ने पौडेलले बताए । कार्यकर्तालाई व्यक्तिको पछि नलाग्न र पार्टीको पछि लाग्न आग्रह गर्दै देउवा,पौडेल वा अरु होइन कांग्रेस भन्न आग्रह गरे । ‘सभापति बलियो हैन,पार्टी बलियो बनाउने भन्नुस्’–पौडेलले भने–‘पौडेल,देउवा नभन्नुस्,कांग्रेस भन्नुस्,तब मात्र पार लाग्छ ।’ पौडेलले १० वटा जातीय राज्य मानेको खण्डमा आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्ड तयार भएको खुलासा गरेका छन् । नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही–४ को सम्मेलनको उद्घाटन गर्दै नेता पौडेलले पहिलो संविधान सभा विघटन हुने अन्तिम दिन प्रचण्डले आफुलाई बोलाएर १० वटा जातीय राज्यमा सहमत हुन आग्रह गर्दै त्यसको बदलामा प्रधानमन्त्री बनाइदिने प्रस्ताव गरेको बताए । ‘पहिलो संविधानसभाको म्यादको अन्ति दिन प्रचण्डले मलाई बोलाएर १० वटा जातीय राज्य बनाउने प्रस्ताव मान्नुस्,म बाबुरामलाई आजै राजीनामा गराएर तपाईलाई प्रधानमन्त्री बनाउंछु भनेका थिए’–पौडेलले भने–‘जातीय राज्य मानेको भए त म सजिलै प्रधानमन्त्री हुनेथिएं, माओवादीको वहुमत थियो तर मैले प्रधानमन्त्री त के राष्ट्रपति पाएपनि जातीय राज्य मान्दिन भनेर अडान लिएं ।’ त्यति बेला माओवादीले मगरात,थरुहट,नेवा,ताम्सालिङ,लिम्बवान जस्ता जातीय आधारमा १० वटा राज्य बनाउन चाहेपनि कांग्रेसको असहमतिकै कारण देश जातीय द्वन्द्वमा जानबाट रोकिएको पौडेलले दावी गरे ।  क्षेत्रीय सम्मेलनमा नेताहरु बालकृष्ण खांण,अर्जुननरसिंह केसी,गगन थापा लगायतले बोलेका थिए ।