काठमाडौं – आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई वैश्विक आतंकवादी घोषणा गर्नमा बारम्बार अवरोध गरेको चीनले अन्त्यमा त्यसो गर्न मानेको छ । पुलवामा आक्रमणपछि यो घोषणा गर्नका लागि बेइजिङमाथि लगातार दबाब परिरहेको थियो । उसले अडान कायम राख्दा बाँकी विश्वबाट अलग्गिने सम्भावना थियो ।
भारतले चीनलाई पुलवामा आक्रमणमा जैशको संलग्नताका विषयमा बलियो प्रमाण सुम्पेको थियो । अनि अमेरिका, बेलायत र फ्रान्स पनि मसूदलाई आतंकवादी घोषित गर्नका लागि दृढ रहँदै बेइजिङमाथि दबाब बढाइरहेका थिए । चीनले आफ्नो सदाबहार मित्र पाकिस्तानलाई सधैं साथ दिने गरेको भए पनि पाकिस्तानमा लुकिबसेका मसूदमाथि प्रतिबन्ध लगाउने विषयमा उसले इस्लामाबादसँग उभिन निकै मुश्किल थियो ।
भारत आफैंले पनि चीनसँगको द्विपक्षीय बैठकहरूमा मसूदलाई आतंकवादी घोषित गर्न दबाब दिइरहेको थियो । पाकिस्तानको बालाकोटमा जैशको आतंकवादी ठेगानामा भारतीय वायुसेनाको आक्रमणपछि चीनमाथि झनै दबाब बढेको थियो । सन् १९७१ के युद्धपछि भारतले पहिलोपटक पाकिस्तानको एयर स्पेस अतिक्रमण गरेर उसको जमीनमा आक्रमण गरेको थियो तर उसका लागि उसको अन्तर्राष्ट्रिय आलोचना भएन । उल्टो अन्तर्राष्ट्रिय समुदायले भारतको कारवाहीको समर्थन गरेको थियो । यसले पनि चीनलाई दबाबमा पारेको हो ।
यसअघि सन् २०१६ को मार्च महिनामा चीनले प्राविधिक आधारमा मसूदमाथिको प्रतिबन्ध उक्त वर्षको अक्टोबर महिनासम्मका लागि रोकेको थियो । त्यसपछि सन् २०१७ मा दुईपटक उसले रोक लगाएको थियो । तर मार्च २०१९ मा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अनौपचारिक प्रस्ताव पेश गरेपछि चीन बुधवार राजी भयो र मसूद अजहर वैश्विक आतंकवादी घोषित भयो – एजेन्सी












