एनसेलको नाफा किन घट्यो? यस्तो छ कारण

प्रकाशित मिति:

काठमाडौं – एनसेलको आम्दानी १ प्रतिशतले घटेको छ। सन् २०१७ को तुलनामा आम्दानी १ प्रतिशतले घटेर ५७ अर्ब ५० करोड कायम भएको यसको मातृकम्पनी अजियटाले जनाएको हो। सन् २०१७ मा एनसेलले ५८ अर्ब १० करोड आम्दानी गरेको थियो। कम्पनीको करपछिको नाफा १९.३ प्रतिशतले घटेर १५ अर्ब ३० करोड कायम भएको छ। सन् २०१७ मा एनसेलले १९ अर्ब नाफा कमाएको थियो। कम्पनीका अनुसार सञ्चालन खर्चमा पनि निकै कटौती गरिएको छ। रिचार्ज कार्ड, आईपी ट्रान्जिट, भिस्याट ब्यान्डविथ, सिमकार्डमा यस्तो खर्च कटौती गरिएको हो। सोही कारण ६२ करोड बचत भएको छ।

यसकारण घट्याे नाफा

नाफा घट्नुमा सरकारले टेलिकम सेवाशुल्क ११ बाट १३ प्रतिशत र डाटातर्फ १३ प्रतिशत वृद्धि गर्नुलाई कारण देखाइएको छ। कम्पनीका अनुसार यसले कुल आम्दानीमा प्रभाव देखिएको छ। अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) तर्फको राजस्वमा पनि सन् २०१८ मा ३३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै व्यावसायिक कर दर २५ प्रतिशतबाट ३० प्रतिशत पुर्याइँदा कम्पनीको खुद नाफा घटेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै श्रमसम्बन्धी नयाँ कानुनी व्यवस्थाले गर्दा कर्मचारीको तलब वृद्धि गर्नुपरेकाले पनि खुद नाफा घटेको उसको भनाइ छ। सरकारले न्यूनतम पारिश्रमिक लागू गरेको थियो। एनसेलले यसलाई पनि नाफा घट्नुको एउटा कारण मानेको हो। एनसेल नेपालमा सन् २००१ मा स्थापना भएको कम्पनी हो। यसको नेपालमा मात्रै १६ करोड ३० लाख ग्राहक रहेका छन्। जुन सन् २०१७ को तुलनामा ०.६ प्रतिशतले घटेको कम्पनीको भनाइ छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा जीएसएम÷ईडीजीई र ३जीप्लस एचएसपीए प्लस सेवा दिँदै आएको छ।