बुटवल – प्रदेशको राजधानी र नामका बारेमा कुनै निर्णय नगरेर प्रदेश पाँचको तेस्रो अधिवेशन आइतबारदेखि सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्र अनुसार आइतबार राति १२ बजेदेखि अधिवेशन सकिएको हो । मंसिर २३ गते शुरू भएको अधिवेशनमा ३८ बिधेयक पारित भएको सभामुख पूर्णबहादुर घर्तीमगरले बताए । यो अधिवेशनले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।
स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिले राजधानी कहाँ बनाउने भनेर विज्ञसँग थप छलफल गर्नुपर्ने निर्णय गरेपछि यो विषय पेचिलो बन्ने देखिएको हो । जिल्ला जिल्लामा पुगेर सुझाव संकलन गरेका उपसमितिका सदस्यहरुले एकीकृत प्रतिवेदन समितिका बुझाएका थिए । राजधानी तोक्दा सुरक्षा, मौसम र भूगोललाई पनि ध्यान दिनुपर्ने भन्दै विशेष समितिले विज्ञसँग छलफल गर्नुपर्ने निर्णय लिएको सभापति संयोजक दीपेन्द्र पुनले बताए ।
उपसमितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रुपन्देही या दाङ हुनुपर्ने सुझाव सहितको प्रतिवेदन विशेष समितिमा बुझाएको छ । विकल्पमा कपिलवस्तुको नाम पनि दिइएको छ ।












