झविन्द्र देवकोटा / बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई सुन्दर शहर बनाउन सरसफाई अभियानलाई सक्रिय पारिएको छ । फोहर ब्यवस्थापनमा चुनौति थपिएर कुरुप बन्दै गएको बुटवललाई फोहरमुक्त शहर बनाउने उद्देश्य सहित बुटवल तिनाउ सरसफाई अभियानले आफ्ना कार्यक्रमलाई सक्रिय पारेको हो । अभियानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रत्यक हप्ता गर्ने बुटवल टोल–टोल सरसफाई अभियानलाई सक्रिय पारेको अभियानका संयोजक ठाकुर गैरेले जानकारी दिनुभयो । गएको असार ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत शनिबार ४७ औं टोल सरसफाई अभियान हुने भएको गैरेले बताउनुभयो ।
प्रत्यक हप्ता टोल सरसफाई अभियानलाई स्थानीयसँगै पहिलो पाईला बुटवल, गुल्मी सिमीचौर सम्पर्क समाज, खुद्रा किराना ब्यवसायि संघ, औद्योगिक शसस्त्र बल, नेपाली सेना, प्रहरीले सहयोग गरेका छन् । बुटवललाई सरसफाईमा सुन्दर शहर बनाउनका लागि प्लाष्ट्रिकका झोला, सामग्री लगायत साना सुर्ति, खैनी, चकलेट, चाउचाउ, स्याम्फु लगायतका प्लाष्ट्रिक बस्तुहरुले समस्या ल्याएको हुँदा त्यस्ता बस्तुहरुको ब्यवस्थापनमा बढी जोड दिनु पर्ने अभियानले सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल नगरलाई सफा र सुन्दर बनाउन आफैबाट फोहर ब्यवस्थापनमा चासो राख्नु पर्ने धारणा राख्दै नगरलाई सफा राख्ने सबैको दायित्व रहेको बताउनुभयो । उहाँले मनैभित्र बाट नगरलाई सफा राख्नु पर्दछ भन्ने मनोभावनाको विकास हुनु पर्नेमा जोड दिनुभयो । अभियानले बुटवललाई सुन्दर शहर बनाउने उद्देश्यले एक वर्षयतादेखि प्रत्यक हप्ताको शनिबार बुटवलका विभिन्न स्थानको सरसफाई गर्दै आएको छ भने सरसफाई अभियानमा बुटवल उपमहानगरपालिकाले प्राविधिक सहयोग दिदै आएको छ । आउने जेठ १८ गते ५० औं सरसफाई हप्ता पुरा भएको अवसरमा वृहद सरसफाई कार्यक्रम गर्ने अभियान रहेको सहसंयोजक कृष्ण कण्डेलले जानकारी दिनुभयो ।












