दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।
यूकेमा दर्ता गरिएको डीए ४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन्। वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए। सो कम्पनीले रेडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्छ र आफ्ना कर्मचारीलाई तिनको निरीक्षण तथा प्रमापन गर्न विश्वभरि खटाउँछ।
दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७स्३० बजेतिर तल झरेको थियो। सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए। अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ।bbc bata












