कालोपत्रे गर्न बन्द गरिएको तम्घास सिमलटारी सडक सुचारु

प्रकाशित मिति:

गुल्मी । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास सिमलटारी सडकखण्ड सञ्चालनमा आएको छ ।रेसुङ्गा नगरपालिका ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुञ्चालन गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।

राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।सडक बन्द भएपछि वैकल्पिक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए ।राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।

सडक अन्र्तगत अघिल्लो आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे भएको थियो । यस वर्ष वैशाख सामान्तसम्म झण्डै ९ किलोमिटर गरी १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ । राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो ।निर्माण कम्पनीले राजमार्गको तम्घासदेखि सिमलटारीसम्मको सडक कालोपत्रे गर्न तीव्र गतिमा काम गरिरहेको छ ।