मलेसियाका पूर्वराजा अहमद शाहको निधन

प्रकाशित मिति:

मलेसिया-मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ ।उनको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका थिए । पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए ।देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बन्नु भएको थियो भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए ।मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ ।नलाई फुटबलमा अत्यन्त धेरै रुचि रहेको र फुटबल क्षेत्रमा उहाँको ठूलो योगदान रहेको भन्दै मलेसियामा उनलाई उच्च सम्मान गर्ने गरिएको छ ।

उनी झण्डै दुई दशकसम्म फुटबल सङ्घ मलेसियाको अध्यक्ष भएका थिए भने सन् १९९४ देखि २००२ सम्म एशियन फुटबल सङ्घको अध्यक्ष भएका थिए ।मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा भएका छन् । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उनी मलेसियाको १६औँ राजा बनेका छन् । त्यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि उनलाई नयाँ राजा चयन गरिएको हो ।मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन रहे पनि यसअघिका राजाले समय पूरा नहुँदै व्यक्तिगत कारण देखाउँदै राजगद्दी परित्याग गरेका थिए ।बुधबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए । त्यसपछि उनी केन्द्रको राजा बनेका थिए ।सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन । उनीहरूले प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ भने अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था छ