१० लाख युवालाई रोजगारी दिने गरी तीनै तहका सरकारबीच हस्ताक्षर

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल – बुटवलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी ५ वर्षमा १० लाख युवालाई रोजगारी दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हाे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री स्वरोजगार कार्यत्रमको आरम्भ गर्दै मन्त्री गोकर्ण विष्टले सबै स्थानीय तहलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी नीति कार्यत्रम तयार गर्न निर्देशन पनि दिएका छन् । मन्त्री विष्टले त्यसलाई पूर्ण रूपले पालना गर्दै वर्षमा हरेक स्थानीय तहले कम्तीमा ५ सय रोजगारीका क्षेत्र पहिचान गर्नुपर्ने बताए ।

कार्यक्रम अन्तर्गत प्रदेश ५ मा बुधबारदेखि कार्यक्रम सुरु भएको हो । मन्त्रीको उपस्थितिमा प्रदेश ५ का १०९ वटै स्थानीय तहले बुधबार नै त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न चालु वर्षका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रकम उपलब्ध गराएको छ ।

हरेक स्थानीय तहलाई ससर्तसहित उपलब्ध भएका त्यही रकमबाट चालु वर्षमा देशभरका १ लाख ६ हजार ८ सय ७२ जनालाई रोजगारी दिने उनले बताए । ‘सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘त्यहीअनुसार चालु वर्षमा देशभरका १ लाख ६ हजार बेरोजगार युवालाई ३० दिनको रोजगारी प्रदान हुनेछ ।’