काठमाडौँ -एक समयका सफल निर्देशक मदन घिमिरे केही वर्षयता सुस्ताएका छन् । पारिवारिक फिल्म बनाउन सिपालु मानिने उनले घर संसारु, बुबाआमा जीवन दाता दादागिर, दोस्ती जस्ता यादगार फिल्मको क्याप्टेनसिप सम्हालिसकेका छन् । केही समय फिल्म निर्देशनबाट टाढा रहेका उनी निर्देशित नयाँ फिल्म ‘काउसो’ यही जेठ १७ मा रिलिज हुँदैछ ।
निर्माण पूरा भएको लामो समयपछि प्रदर्शनका लागि तयार भएको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अर्नभ फिल्मस प्रोडक्सन प्रा।लिको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निर्देशक घिमिरे स्वयंको हो ।
रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरुले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्यामा फिल्म आधारित छ । निर्देशक घिमिरेले आफूले यसअघि पारिवारिक फिल्म बनाए पनि ‘काउसो’ पूर्ण कमेडी कथावस्तुमा निर्माण भएको बताएका छन् । फिल्ममा एउटा पनि एक्सन दृश्य नभएको उनको भनाई छ ।
शुक्रवार राजधानीमा फिल्मको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता सविनले आफू यस फिल्मबाट निकै आशावादी रहेको बताए । उनले भने मलाई भाग सानी भाग पछि निकै रमाइलो लागेको फिल्म हो ‘काउसो’ । फिल्मले दर्शकलाई निराश बनाउँदैन । हाँस्दा हाँस्दै २ घण्टा वित्छ । अर्का कलाकार अर्जुन गुरुङले पनि फिल्म उत्कृष्ट बनेको दावी गरे । फिल्मको निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन् । निर्देशक स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । रामेश्वर हुमागाइँको छायांकन रहेको फिल्मको सम्पादन नविन निरौलाले गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् । फिल्ममा विकास चौधरीको संगीत छ ।












