फेसबुकले हटायो हालसम्मकै बढी २ अर्ब फेक अकाउन्ट

प्रकाशित मिति:

एजेन्सी -फेसबुकले हालसम्मकै बढी ‘फेक एकाउन्ट’ आफ्नो साइटबाट हटाएको छ । यसै सालको जनवरीदेखि मार्चसम्मको ३ महिनामा उसले करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको जनाएको हो ।फेक एकाउन्टको यो संख्या फेसबुकका खास प्रयोगकर्ताक‌ै हाराहारी हो । हाल विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड रहेको छ । ३ महिनाको अवधिमा २ अर्ब २० करोड फर्जी खाता हटाउनुलाई फेसबुकले हालसम्मकै ठूलो कदमका रुपमा अर्थ्याएको छ ।

फे‍सबुकका सिइओ मार्क जुकरबर्गले फेसबुक प्रयोगकर्ताहरुको सुविधा तथा सुरक्षाका लागि कम्पनीले आर्टिफिशियल इन्टेलीजेन्सी लागू गर्न गइरहेको छ र अन्य आवश्यक सुधारहरु गरिरहेको बताएका छन् । कम्पनीले एउटा स्वायत्त बोर्ड पनि बनाउन गइरहेको छ र यसले फेसबुकका लागि अदालतले जस्तै काम गर्ने जनाइएको छ । फेसबुक सम्बन्धी गुनासा तथा समस्याको समाधान उक्त बोर्डले गर्नेछ, जसको निर्णय नै अन्तिम मानिनेछ ।

पछिल्लो समय फेसबुक विवादमा पर्दै आइरहेको छ । प्रयोगकर्ताका डेटा शेयरिङ र फेक अकाउन्ट्सको विषयलाई लिएर विश्वका कयौँ देशहरुमा फेसबुकको आलोचना भइरहेको छ भने व्यक्तिगत डाटा चोरीको आरोप समेत लाग्ने गरेको छ । आलोचना बढ्दै गएपछि प्रयोगकर्ताको सुरक्षाको लागि फेसबुकले महत्वपूर्ण कदम चाल्न थालेको बताइन्छ । फर्जी खाता बन्द गर्न र आपत्तिजनक विषयवस्तु नष्ट गर्नु कम्पनीको पहिलो प्राथमिकतामा रहेको जुकरबर्गको दाबी छ ।