काठमाडौँ -उत्तरी छिमेकी चीनसँग जोडिएको तातोपानी नाका जेठ १५ गतेबाट खुल्ने भएको छ । तर, यो सांकेतिक मात्र हुने बताइएको छ । सडक र अन्य पूर्वाधार नबनेका कारण नाका पूर्णरुपमा सञ्चालनमा आउन अझै एक महिनाभन्दा बढी समय लाग्नेछ । वार्षिक ८ अर्ब राजस्व संकलन हुने तातोपानी नाका चार वर्षसम्म बन्द हुँदा राज्यले ठूलो आर्थिक घाटा व्यहोर्नु सरकारी भनाइ छ ।
नाका सञ्चालन भएको सन्देश दिन जेठ १५ गते ६ वटा कन्टेनर नेपाल भित्रिने सरकारी अधिकारीहरुले बताएका छन् । पूर्ण सञ्चालनका लागि भने एक महिना पर्खिनुपर्ने छ, अर्थात असारको अन्तिम साताबाट नाका सञ्चालन हुने छ । अहिले नेपालतर्फ सुख्खा बन्दरगाहको निर्माण सकिएपनि नेपाल र चीनको सिमानामा पर्ने मितेरी पुल निर्माणकै चरणमा छ । नेपालतर्फ मात्र होइन, चीनको खासा बजारको स्तरोन्नतीको काम भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बार्षिक ८ अर्बको वरिपरी राजस्व संकलन हुने तातोपानी नाका बन्द हुँदा सरकारलाई राजस्वको लक्ष्य भेट्न मुश्किल परेको जानकारहरु बताउँछन् । नाका सहज भए यो तथ्यांक बढ्ने भन्सार कार्यालयको दावी छ । शनिबार नाका निरीक्षण गर्न पुगेका अधिकारीहरुले पूर्वाधार निर्माणलाई सँगसँगै लैजाने बताएका छन् । व्यवसायीहरुले भने सडक पूर्वाधार र सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताएका छन् । भन्सारसँग व्यवसायीको सिधा पहुँच हुनुपर्ने उनीहरुको माग छ ।निर्माण सम्पन्न सुख्खा बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर र २३ भन्दा बढी कार अट्ने क्षमता छ । सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन जस्ता कार्यालयहरु पनि बनाइएको छ ।












