उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौँ -अष्ट्रियाको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग सोमबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अष्ट्रियाको राष्ट्रपति भवन होफवर्गमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यलगायतका विषयमा भेटवार्ता भएको हो ।

नेपाल र अष्ट्रियाको सहकार्य एवं मित्रता र साथ सहयोगप्रति दुवैले खुसी व्यक्त गर्नुभएको छ । भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रूपमा जानरकारी गराउनुभएको थियो ।भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याललगायत सहभागी हुनुहुन्थ्यो  उपराष्ट्रपति पुनले आजै होफवर्ग सङ्ग्राहलयमा भइरहेको नेपाली कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभएको थियो ।

उपराष्ट्रपिन पुनले जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन् । जेष्ठ १८ गते शनिबार उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।