काठमाडौं – गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने र तातो हावा चल्न सक्ने जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै जनाएको छ । गर्मीबाट बच्नका लागि आवश्यक तयारी र सावधानी अपनाउनुपर्ने गृहले जनाएको छ ।
विज्ञहरुलाई उद्धृत गर्दै गृहले अति आवश्यक काममा मात्रै घर बाहिर निस्कन र सकेसम्म छाता बोकेर निस्कन, भरसक सेतो, पातलो र हलुका लुगा लगाउन, गर्मी मौसममा घर बाहिर धेरै डुल्ने तथा खेल्ने काम नगर्न आग्रह गरेको छ ।
त्यसैगरी, सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगर्न र समय समयमा आराम गर्न, चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउन, पिउने पानी साथमा बोकेर हिँड्न, घर बाहिर बस्दा सकेसम्म रुखको छहारीजस्ता शीतल ठाउँ रोज्न, फलफूल, काँक्रा, तरबुजा, हरियो सागपात, झोल पदार्थ प्रशस्त खान, झाडा पखाला, आउँजस्ता रोगबाट बच्न पानी तताएर चिसो पारेर पिउनसमेत आग्रह गरेको छ ।
त्यसैगरी, खाना खानुअघि र फोहोर छोएपछि सधै साबुनपानीले हात धुन, आफ्नो घर वरिपरी सफा राख्न, पानी जम्ने खाल्टाखुल्टी भए पुर्न, चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्न, बिरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्न जान र गर्मी (लु)बाट बच्न आफूले जानेका राम्रा कुरा अरुलाई सिकाउन समेत गृह मन्त्रालयले आग्रह गरेको छ ।












