‘प्रेम दिवस’ गीतमा आयुष्मान र प्रियंकाको प्रेम

प्रकाशित मिति:

जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत छ । गीतको भिडियोमा फिल्म भित्रका चलरअचल दृश्यहरु समावेश गरिएको छ ।

भिडियोमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा फिल्म केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ गीतका कारण चर्चामा रहेको यो फिल्ममार्फत् पहिलो पटक प्रियंका र आयुष्मान सिल्भर स्क्रिनमा देखिन लागेका हुन् । उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् ।