♦चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको टोर्नाडोको तस्बिर । स्रोत: स्मल अर्थ नेपाल
काठमाडौंँ – गत चैत १७ गते बारा पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुटाउन विज्ञलाई सकस परेको छ । टोर्नाडो आएर गएको दुई महिना वितिसक्दा पनि त्यसको नाम राख्न विज्ञले नसकेका हुन् । के कस्तो नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन कसरतमा रहेको विज्ञहरूको भनाइ छ ।
टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले सही नाम तथा यसका विभिन्न पक्षको अध्ययन गर्न आठ सदस्यीय समिति नै बनाएर काम गरिरहको छ । तथापि त्यो समितिले हालसम्म प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।
“टोलीले रिपोर्ट बुझाएको छैन, त्यसका आधारमा नाम राखिन्छ,” विभागका महानिर्देशक सरजुकुमार वैद्यले भन्नुभयो, “रिपोर्ट आएपछि नामको पनि टुङ्गो लाग्ला ।”
यसै हप्ताभित्र रिपोर्ट उहाँ समक्ष पुग्ने र सुझाएका नाम सार्वजनिक गरिने विभागले जनाएको छ । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन सकेको जनाएको छ । विभाग सहित टोर्नाडो पत्तालगाउने कार्यमा संलग्न स्मल अर्थ नेपाल, इसिमोड तथा प्राविधिक सहितको टोलीले टोर्नाडो आएको स्थानको स्थलगत अध्ययन गरेको थियो । “नामहरू आएका छन् ,त्यो माथि वृहत् छलफल भयो र एकहदसम्म टुंगो पनि लाग्यो तर अब प्रतिवेदन बुझाउन बाँकी छ”, टोलीकी वरिष्ठ अध्येता डा.अर्चना श्रेष्ठले भन्नुभयो, “मन्त्रालयले पनि नेपाली शब्दकोषमा समायोजन गर्न सकिने र सुहाउँदो नाम चाहिन्छ भनेकाले गृहकार्य गरेका हौँ ।” उहाँका अनुसार नेपालमा यसअघि कहिले पनि नआएको हुनाले यो भविष्यको इतिहास हो । त्यसैले पनि नेपालको मौलिकता झल्कने नाम जरुरी हुन्छ ।
अध्ययन प्रतिवेदन तयार गर्ने समितिको संयोजकमा विभागका महानिर्देशक सरजुकुमार वैद्य, सदस्यहरूमा डा.अर्चना श्रेष्ठ, मौसमविद सुमनकुमार रेग्मी, सुजन सुवेदी, शान्ति कँडेल, इसिमोडका शरद जोशी, स्मल अर्थ नेपालका धिरज प्रधानाङ्ग, रहनु भएको छ । टोर्नाडोको संरचना, लम्बाइ, प्रभाव, गति आदिका बारेमा गहन अध्ययन भएको श्रेष्ठले जानकारी दिनुभयो । नामका बारेमा भए पछिल्लो समय आएका नयाँ नाममाथि छलफलसँगै मतसर्वेक्षण समेत गरिएको छ ।
टोलीमा सहभागी विज्ञहरुका अनुसार तराईको भेगमा चल्ने भाषा तथा विपत्तिमा राखिने नामसँग जोडेर समेत नामको खोजी भइरहेको छ । महाहुण्डरी, घुम्र हुण्डरी, बवण्डर लगायतका नाम सुझाव संकलनबाट आएको विज्ञहरूले बताए । स्मल अर्थ नेपालमा अध्येता नामीहाङ किराँतले आफुहरुको तर्फबाट दिइने रिपोर्ट दिइसकेको उल्लेख गर्नुभयो । “ ड्रोनको तस्बिर तथा भू–उपग्रहका तस्बिर विश्लेषणको काम विभागले गरिरहेको छ,” किराँतले थप्नुभयो, “नामको बारेमा भने विभागले नै टुङ्गो लगाउँछ ।” चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको टोर्नाडोको भू–उपग्रहबाट उपलब्ध तस्विरबाट मात्र अध्ययन भएको छ । संरक्षित जंगल भएका कारण त्यो क्षेत्रमा जान कठिन रहेको अर्का अध्यता पियुष दाहालले बताउनु भयो ।
पोखरामा उत्पन्न भएर चितवन पर्सा हुँदै टोर्नाडोले बारामा उग्र विनास गरेको थियो । सो क्रममा २९ जनाले ज्यान गुमाएका थिए । नेपालकै इतिहासमा पहिलो पटक आएको टोर्नाडोको नाम त्यतिकै राख्न नसकिने वरिष्ट मौसमविद मदनलाल श्रेष्ठ बताउनुहुन्छ । टोर्नाडोले बाराको फेटा गाउँ पालिकामा बढी क्षति गरेको थियो । ढलानको घर, पिलर नभएको गारोवाला घर र कच्ची घर मिसिएको वस्ती भएकाले बढी क्षति भएको विज्ञहरुले बताउनुभयो । प्रारम्भिक अनुमान अनुसार टोर्नाडो ९० किलोमिटर लामो बाटो बनाएको छ ।












