एजेन्सी –भारतमा गर्मी उच्च हुँदै गएको छ । राजस्थानका मरुभूमिमय शहरी क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयसभन्दा माथि पुगेको छ त्यहाँका अधिकारीहरुले जनाएका छन् ।राजस्थान प्रदेशमा पर्ने चुरु क्षेत्रको तापक्रम ५०।३ डिग्री सेल्सियस मापन गरिएको छ भने यसअघि गत शनिबार सो क्षेत्रको तापक्रम ५०।६ डिग्री सेल्सियस पुगेको थियो ।
यो तापक्रम भारतभरिकै सबैभन्दा उच्च तापक्रम हो । पछिल्लो तीन दिनमा मात्रै तापक्रम दोस्रो पटक यति धेरै बढेको अधिकारीहरुको दाबी छ ।हुन त यसअघि सन् २०१६ को मे महिनामा भारतमा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको थियो । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो ।अत्यधिक तापक्रमका कारण केही नागरिकले ज्यान गुमाइसकेको बताइए पनि यकिन तथ्यांक सार्वजनिक गरिएको छैन ।
गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क भने मिडियामा आएको छ ।भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैका प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको छ ।नयाँ दिल्लीको सामान्य तापक्रम सोमबार झण्डै ४० डिग्री मापन गरिएको छ । यद्यपि दिल्लीकै केही इलाकामा भने ४६ डिग्रीसम्म पुगेको हिन्दूस्तान टाइम्सले लेखेको छ ।












