​कुलमानमाथि फेरि खनिए नेकपाकै अर्का सांसद, महेश बस्नेतले संसदमै उठाए गम्भीर प्रश्न

प्रकाशित मिति:

काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु लोड सेडिङ हटाएर चर्चामा आएका नेपाल विद्युत्त प्राधिकरणका कुलमान घिसिङमाथि एकपछि अर्को गरेर खनिन थालेका छन्। केही दिन पहिलो लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले भ्रष्टाचारको आरोपमा घिसिङमाथि छानबिन हुनुपर्ने माग गरेका थिए। मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेकपाका अर्का सांसद महेश बस्नेतले पनि उस्तै माग गरेका छन्।

प्रधानमन्त्री केपी ओली निकट मानिने बस्नेतले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कुलमानमाथि भ्रष्टाचारमा छानबिन हुनुपर्ने माग गरे। सरकारको नेतृत्व गरिरहेको नेकपाका सांसद बस्नेतले नेपाल विद्युत प्राधिकरणका कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन्।

विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा नेकपाका सांसद अमनलाल मोदीले उठाएपछि उनीविरुद्ध बिभिन्न आरोप लगाइएको भन्दै प्राधिकरणका कामको अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने बस्नेतको माग छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बस्नेतले भने, ‘माननीय अमनलाल मोदीले सार्वजनिक लेखा समिति बैठकमा विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठ्न बाँकी रकमबारे कुरा उठाउनुभयो। भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २ सय २५ मेगावाट विद्युत प्रयोग गरे पनि नगरे पनि प्रतियुनिट १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ।’

यी कुरा उठाउँदा सांसद मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तल्लो स्तरबाट गाली गरिएको उनले अरोपसमेत लगाए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उक्त गालीगलौजलाई बढावा दिएको बस्नेतको भनाइ थियो। उनले भने, ‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो। कुलमानजीले गरेका काममा हाम्रो साथ, सहयोग र समर्थन छ। अमनलाल मोदीजीले उठाएका विषय पनि गम्भीर छन्।’