काठमाडौं – एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।मलेसिया रोेजगारी बन्द र स्वदेशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना हुन नसक्दा हजारौँ नेपालीहरु बेरोजगार बन्नुपरेकाले मलेसिया रोजगारी खुलाउनुपर्ने र सत्यतथ्य बाहिर ल्याउन माग गर्दै काँग्रेस सांसद एवं छाया सरकारकी श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डिला संग्रौला पन्तले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।
मलेसिया नेपाली युवाहरुका लागि आकर्षक गन्तव्य मानिन्छ । तर, विगत एक वर्षयता नेपालीहरुका लागि मलेसिया रोजगारी बन्द छ ।जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि सरकारले त्यसबारे सदनलाई अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ ।
‘नेपालमा लाखौं युवाहरु बेरोजगार छन् । नेपालीको मुख्य गन्तव्य भनेको मलेसिया नै हो । सरकारले सम्झौता गरेको ८ महिना भन्दा बढी भएको छ । त्यसले गर्दा लाखौं युवाहरु अलपत्र परेका छन् । मलेसिया एक वर्षदेखि बन्द छ । नेपालमै रोजगारीको वातावरण बनिसकेको छैन् । मुलुकले ठूलो रेमिट्यान्स गुमाएको छ’, काठमाण्डुटुडेसँग कुरा गर्दै सांसद पन्तले भनिन् ।
छायामन्त्री पन्तले मंगलबार यस्तो प्रस्ताव दर्ता गरेपछि मलेसिया रोजगारी प्रकरण फेरि चर्चामा आएको छ । ‘स्वास्थ्य परीक्षण गर्ने, जाँचबुझ गर्ने बेलामा एजेन्सीबाट धेरै चलखेल भएको छ । सरकारले रोक्न सकेको छैन’,उनले भनिन्, ‘अर्को महत्वपूर्ण कुरा, वैदेशिक रोजगारमा विकृति बढेर गयो यसले गर्दा नेपाली युवाले धेरै दुःख पाएका छन् । सरकारले यसमा ध्यान दिएको छैन् । सत्यतथ्य के हो ? राेगारीकाे अाकर्षण मानिएकाे मलेसिया किन बन्द भयाे ? त्यसको छलफलका लागि सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गरिएको हो । यसबारे सरकारले संसदलाई जानकारी दिनुपर्छ ।’
श्रम मन्त्रालयका अनुसार गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । तर, यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको पन्तको भनाई छ । मलेसिया बन्द भएको यत्रो समय बितिसक्दा पनि कुनै पहल नगरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको आलोचना हुन थालेको छ । सरकारले भने यसविषयमा पहल भइरहेको प्रतिक्रिया दिएको छ । सांसद पन्तको यो कदमले मलेसिया रोजगारीमा सरकारले आवश्यक कदम चाल्ने देखिएको छ ।












