६५ प्रतिशत जनता कृषिमा निर्भर, सरकार २ प्रतिशत पनि बजेट छुट्याउँदैन

प्रकाशित मिति:

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने बताएका छन्।आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको सुनाउँदै भएको बजेट कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताए।

मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउने गरी मन्त्रालयले कार्यक्रम अघि सारेको जानकारी गराए। त्यसका लागि प्रदेश तथा स्थानीय तहमा सशक्त अनुदानको व्यवस्था गरिएको उनको भनाई छ।

नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको ठूलो योगदान रहेको सुनाउँदै उहाले आगामी दिनमा पनि कृषिको वृद्धिदर नघट्ने दाबी गरे।
उनले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी मलको ब्लेण्डिङ कारखाना खोल्न लागिएको पनि जानकारी गराए। मन्त्री खनालले सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा रहेको सुनाउँदै यो अवधिमा कृषिको पनि राम्रो जग बसेको स्पष्ट पारे। उनले अहिले ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको सुनाउँदै यो संख्यालाई झारेर २५ प्रतिशत बनाउनुपर्नेमा जोड दिए।