राजन खकुरेलको कोषाध्यक्षमा उम्मेद्धारीः एनआरएनए यूकेको चुनावमा एक नौलो आयाम

प्रकाशित मिति:

लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका केन्द्रिय सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । बेक्स्ली समाज यूकेद्धारा गत शनिवार साउथ–इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । उनले एनआरएनए यूकेका अग्रजहरु, अभियन्ताहरु र बेलायतमा रहेका बिभिन्न संघसस्थाका नेतृत्वको सल्लाहमा आफुले उम्मेद्वारी दिएको बताए ।

एनआरएनए यूकेको २०१९–२१ का लागि कोषाध्यक्ष पदका आकांक्षी राजन खकुरेलस् जुन ८ मा बेक्स्ली समाज यूकेद्धारा आयोजित कार्यक्रममा आफ्नो उम्मेद्वारी घोषणापछि शुभकामना ग्रहण गर्दै  बुट्स फार्मेसीमा एसिस्टेण्ट म्यानेजरको रुपमा कार्यरत खकुरेल पेशाले स्वास्थ्यकर्मी हुन् र छोटो समयमै उनले एक सफल युवा ब्यवसायीको समेत परिचय बनाएका छन् । खकुरेलको प्लमस्टेडको डाँफे रेस्टुरेण्ट एण्ड बार र वेलिङको मनकामना स्टोर साउथइस्ट लण्डनमा निकै लोकप्रियमध्येमा पर्दछन् ।

सन् २०१० मा बेलायत प्रवेश गरेयता आफ्नो ब्यापार ब्यवसाय बाहेक खकुरेलको समाजसेवामा पनि उत्तिकै लगाव रहेको छ । उनी हाल बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष र नेपाली युथ एशोसियसन यूकेका बरिष्ठ उपाध्यक्ष समेत हुन् । हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरेलको अग्रिम भूमिका रहिआएको छ । उनकै अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको थियो ।

बेलायतमा हुने कतिपय खेलकुद क्रियाकलापहरुमा पनि राजन खकुरेलको नाम उत्तिकै जोडिने गरेको छ ।उनी सन् २०१८ बाट भने ग्रीनवीच कपको सहसंयोजक रहेका छन् । लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरेलले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरेलको भूमिका कम रहेन ।

बेलायतमा हुदैआएका धेरैजसो च्यारिटी कार्यक्रमहरुमा खकुरेल सधैं दाता रहिआएका छन् । एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर हेल्थ क्याम्प को पनि खकुरेलले गत साल सहसंयोजकको र यस पटक संयोजकको भूमिका निर्वाह गरे । उनले एनआरएनए यूकेको च्यारिटी कमिशनमा फण्डरेजिङ कोअर्डिनेटरको भूमिका पनि खेलेका थिए । आगामी कार्यसमितिमा आफु किन कोषाध्यक्ष रहनुपर्ने भन्ने प्रश्नको जवाफमा राजनले भने संस्थालाई आर्थिक रुपमा सबल र पारदर्शी बनाउन, नेपाल हाउस अभियानलाई पुनः निरन्तरता दिन र वर्तमान कार्यकालमा आफ्नै आर्थिक संयोजनमा शुरु गरेको च्यारिटी दर्ता प्रकृयालाई म पूर्णता दिन चाहान्छु ।

एनआरएनए यूकेको आठौं राष्ट्रिय अधिबेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुँदैछ र आकांक्षीहरुले बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणा गर्ने क्रम हाल जारी छ ।