जापानका प्रधानमन्त्री इरान भ्रमणमा

प्रकाशित मिति:

तेहरान– जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन्।प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक भएको हो। अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग पारम्परिक सम्बन्ध रहिआएको छ।

खामेनीको आधिकारिक ट्वीटमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँगको भेटवार्ताका तस्वीरहरु राखिएको छ। गत वर्ष मे महिनामा संयुक्तराज्य अमेरिकाले सन् २०१५ को ऐतिहासिक इरानी आणविक सम्झौता त्याग्ने घोषणा गरेपछि दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ। अमेरिकाले उक्त आणविक सम्झौताको आडमा आणविक हातहतियार निर्माणलाई गुप्तरुपमा विकास गरिरहेको आरोप लगाएको छ।

हाल संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गर्नुका साथै सम्भावित इरानी आक्रमण भन्दै मध्यपूर्वमा सैनिक उपस्थिति बाक्लो बनाएको छ। अमेरिकी प्रतिबन्धसँगै इरानी खनिज तेलको बिक्री रोकिएको छ जसबाट भारत, चीन, जापान समेतका प्रमुख तेल आयातकर्ता मुलुकहरुको अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ। इरानले यमनका विद्रोही हुथी समूहलाई राजनीतिक, आर्थिक तथा हातहतियार उपलब्ध गराएको आरोप समेत लाग्ने गरेको छ जसलाई इरानले लगातार अस्वीकार गरिरहेको छ।हुथी विद्रोहीले छिमेकी मुलुक साउदी अरेबिया, युएई समेतका मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लाग्दै आएको छ। जापानी प्रधानमन्त्री आबेले अहिले मध्यपूर्वका मुलुकहरुमा तनाब बढ्दै गएको र भिषण द्वन्द्व कुनै पनि समय शुरु हुन सक्ने बताएका छन्। उनले सशस्त्र युद्धको अवस्था आउन दिनु नहुने बताए।प्रधानमन्त्री आबेले जापानले तनाब न्यून गर्न सबै प्रयास गर्ने बताउँदै यही एकमात्र उद्देश्यका साथ आफू इरान आइपुगेको बताए। तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति रौहानीले संयुक्तराज्य अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीजस्तो दबाब रोकेमा मध्यपूर्वमा सकारात्मक परिवर्तनको सम्भावना धेरै रहेको बताए। उनले अमेरिकाले इरानमाथि सैनिक हस्तक्षेत्र गरेमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिए। रासस