एजेन्सी – ओमन सागरमा तेलको ट्याङ्करमाथि भएको हमलापछि अमेरिका र इरानबीच बढेको विवादले कच्चा तेलको मूल्य बढेको छ । वासिङ्टनका तर्फबाट तेलको सुरक्षित आवागमनका लागि आवश्यक कदम उठाउने अमेरिकी विदेश मन्त्री माइक पम्पियोले बताए । घटनाको असर स्वरुप, सोमबार बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव हुन पुगेको छ ।
पम्पियोको भनाइपश्चात कच्चा तेलको मूल्यमा ०.४ प्रतिशत वृद्धि हुन पुगेको छ भने हालको मूल्य प्रतिब्यारेल ६२.२७ मा अडेको छ । बिहीबार तेल ट्याङ्करमा हमलापश्चात् कच्चा तेल मूल्यमा ४.५ प्रतिशत र शुक्रबार १.१ प्रतिशत वृद्धि भएको थियो । ओमन सागरमा तेल ट्याङ्करमाथि भएको हमलामा अमेरिकाले इरानलाई दोषी मानेको छ । इरानले भने यसलाई अस्वीकार गर्दै आएको छ । संसारभर आपूर्ति हुने कच्चा तेलको ४० प्रतिशत हिस्सा ओमन सागरको बाटो हुँदै बाहिरिने गर्छ । तेल ट्याङ्करमाथिको हमलापश्चात् अमेरिकी विदेश मन्त्री पम्पियोले भनेका छन्, ‘‘हामी युद्ध चाहँदैनौं । यस्तो अवस्थालाई रोक्नका लागि जे गनुपर्ने हो त्योचाहिँ हामी गर्छौं ।’’ आइतबार उनले पुनः इरानलाई चेतावनी दिए । ‘‘इरानले स्पष्ट रुपमा बुझ्नुपर्छ कि, यस्तोखालको व्यवहारविरुद्ध अवश्य पनि एक्सन लिनुपर्ने हुन्छ,’’ उनले भने ।












